
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ । बिमस्टेक क्षेत्रीय सम्मेलनको साइडलाइनका क्रममा दुई देशका प्रधानमन्त्रीबीच आज भेटवार्ता भएको हो ।
भारतीय समकक्षीसँगको भेटपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आत्मीय र सौहार्द्रपूर्ण संवाद भएको बताएका छन्। उनले आफूहरूको संवाद सार्थक र रचनात्मक रहेको र नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘बिमस्टेक शिखर सम्मेलनले उठाएका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुनेछ ।’
यस्तै भारतीय प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जालमार्फत् ओलीसँगको भेटबारे प्रतिक्रिया व्यक्त गरेका छन् । उनले नेपाल र भारतको मित्रताको विभिन्न पक्ष र विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता विषयमा छलफल गरेको बताए । यस्तै विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा भएको मोदीले उल्लेख गरेका छन् ।