चितवन: देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले माघेसङ्क्रान्ति मेलाका अवसरमा आज र सोमबार नारायणगढ–मुग्लिन सडकखण्ड नरोकिने जानकारी दिए । पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले दिउँसोमा सवारी रोकी काम गरिँदै आएको थियो । सङ्क्रान्ति मेलाका लागि सडक नरोकिने भएको हो ।
आज राति भक्तजन देवघाटमा जाग्राम बस्ने प्रचलन छ । धर्मशास्त्रअनुसार सौरमासका हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।देवघाटमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट भक्तजन स्नानका लागि आउने गर्दछन् । विगतका वर्षमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्या बढी हुने अपेक्षा गरिएको छ ।