
चितवन- बाँकेको डुडुवा ६ असमानपुरस्थित जयन्दु बाल सुधार गृहभित्र आपसी झगडाबाट सुरु भएको विवादले उग्ररुप लिँदा उक्त क्षेत्र दिनभर तनावग्रस्त बन्यो । झडपमा ३ प्रहरी तथा ४९ बालबन्दी घाइते भएका छन् ।
घाइतेहरूलाई भेरी अस्पताल र सञ्जीवनी अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको गम्भीर रहेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार कुल ४९ जना बालबन्दीलाई अस्पताल भर्ना गरिएको हो। शुक्रबार राति ६ जना र शनिबार ४३ जना घाइते भएको उनले बताए। यीमध्ये सामान्य अवस्थादेखि गम्भीर चोट लागेकासम्म छन्। शुक्रबार मध्यरातिदेखि सुरु भएको तनाव शनिबार दिउँसोसम्म नियन्त्रणमा आएको थियो।
बालबन्दीहरूले सुरक्षाका लागि खटिएका प्रहरीमाथि पनि इट्टा र ढुंगा प्रहार गरेका थिए भने सुधार गृहमै आगो लगाएका थिए।
घटनामा ३ प्रहरी घाइते भएकामा उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। स्थिति नियन्त्रणमा ल्याउन शनिबार दिउँसोसम्म प्रहरीलाई हम्मे–हम्मे परेको थियो। त्यसका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
सोही क्रममा भागेका करिब ६ बालबन्दी पछि आफैं सम्पर्कमा आएको बताइएको छ। उक्त सुधार गृहमा २५५ जना बालबन्दी र १२ जना प्रहरी बस्दै आएका थिए। आगजनीका कारण भवनको पहिलो तला बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ।