Mero Chitwan
वुमन्स डे कप टी ट्वान्टी : चौथो खेलमा नेपाल युगाण्डासँग ४० रनले पराजित, फाइनल होडबाट बाहिर

काठमाडौं– युगाण्डामा जारी वुमन्स डे कपमा नेपालले चौथो हार व्यहोरेको छ। आज भएको खेलमा युगाण्डासँग ४० रनले पराजित भएसँगै नेपाल फाइनल होडबाट पनि बाहिरिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो तर नेपाल १७.१ ओभरमा ५१ रनमा अलआउट भयो। 

कविता जोशीले सर्वाधिक १२ रन बनाइन् भने इन्दु बर्माले ११ रन बनाइन्। पाँचजना खेलाडीले खाता नै खोल्न सकेनन्।

१ रनमै पहिलो विकेट गुमाएको नेपालले १५ रनमा दोस्रो तथा १७ रनमा तेस्रो र चौथो विकेट गुमाएको थियो भने ३० रन जोड्दा ६ विकेट गुमिसकेको थियो।

युगाण्डाका इमाकुलेट नाकिसुयीले ४ ओभरमा १० रन दिएर ३ विकेट लिइन्। इरेने मुटनीले ३ ओभरमा १० रन दिएर ३ विकेट लिइन्। जानेत माबाजी र कोन्सी लेटले १-१ विकेट लिए।

त्यसअघि एन्टेबे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाउँदै ९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ रन बनाइन्। इस्थर इलोकुले २२ रन बनाइन्। स्टेफानी नाम्पिना १३ रनमा नटआउट रहिन्।

नेपालका लागि रिया शर्माले ४ ओभरमा १६ रन दिएर २ विकेट लिइन्। पुजा महतो, ईश्वरी विष्ट र रुबिना क्षेत्रीले १-१ विकेट लिए।

हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालको अब शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिएको छ। नेपालको ५ खेलमा २ अंक मात्र छ। युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो।

नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ भने नामिबियाले युगाण्डासँग खेल्ने छ। अब भोलि हुने अन्तिम दिनको खेलपछि फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ। समूहमा चौथो हुने पक्का भइसकेको नेपालले तेस्रो स्थानका लागि खेल्ने छ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  २२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update