
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिललाई टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले जोशीको सकुशल र शिघ्र रिहाइका लागि भूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरेका हुन् । जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने आश्वासन दिएका छन् ।
इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको इजरायल र हमासबीचको दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा नाम प्राथमिकतामा पार्ने प्रयासका लागि धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री ओलीले इजरायल र हमासबीचको युद्धविराम सम्झौताको नेपालले स्वागत गरिसकेको र सो क्रममा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिकाको महत्वपूर्ण भएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा सदैव रहेको स्पष्ट गर्दै यस मानवीय प्रकृतिको कार्यमा भूमिका निर्वाहका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि आभार व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि राष्ट्रपति खालिललाई निमन्त्रणा गरेका छन् । वातावरणसम्बन्धी विश्व सम्मेलन (कोप–२७) को आतिथ्य मुलुकका नाताले जलवायु परिवर्तनका मुद्धामा साझा सहकार्यका लागि प्रधानमन्त्री ओलीले आग्रह गरे । नेपाल सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवादको क्रममा पहिलो शृङ्खलाको आयोजना गर्न लागेको हो ।