
एजेन्सी- अमेरिका-क्यानडा व्यापार युद्ध झन् चर्किएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्यानेडियन स्टिल र एल्मुनियममा विश्वको बाँकी भागको तुलनामा दोब्बर दरले भन्सार शुल्क लगाउने घोषणा गरेका हुन् ।
ट्रम्पले वाणिज्य मन्त्रीलाई क्यानडाबाट अमेरिकामा आउने सबै स्टिल र एल्मुनियममा थप २५ प्रतिशत भन्सार शुल्क लगाएर ५० प्रतिशत बनाउन निर्देशन दिएको ट्रम्पले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन् । यो मार्च १२ बाट लागू हुनेछ।
स्टिल र एल्मुनियममा भन्सार शुल्कको यो परिवर्तन उनको अस्थिर भन्सार नीतिको पछिल्लो कदम हो। ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा भन्सार शुल्कलाई मुख्य एजेण्डा बनाउने वाचा गरेका थिए । यी तीव्र परिवर्तनहरूले स्टक बजार र अन्य आर्थिक सूचकहरूलाई अस्थिर बनाएको छ।
आफ्नो पोस्टमा ट्रम्पले यो भन्सार शुल्क ओन्टारियोले बिजुली निर्यातमा २५ प्रतिशत बढी भन्सार लगाएको जवाफमा लगाइएको बताएका छन् । जसले मिनेसोटा, मिशिगन र न्यूयोर्कका ग्राहकहरूलाई प्रभावित गर्ने प्रान्तले बताएको थियो।