
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजापक्षधरहरुलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस् । हामीलाई त्यसमा हाम्रो आपत्ति छैन । लोकतन्त्र जति प्रचण्डको हो त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी सबै राजनीतिक दलहरूले राखेका छौँ र हाम्रो संविधानले पनि मान्यता राखेको छ । यसलाई कमजोर नठानियोस् ।’
यस्तै दाहालले राजावादी सक्रिय हुनुको पछाडि सरकारको गलत शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष भएको बताए ।
‘राजावादीका पछि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन् । तर यस खालका चलखेल आजमात्र भएका होइनन् । नेपालमा यस्ता खालका चलखेलहरु हिजो पनि थिए, अस्ति पनि थिए,’ उनले भने । पूर्वराजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुनेसमेत दाहालले चेतावनी दिए ।
दुई तिहाइको सरकार बिचौलियाहरूले हाँकिरहेको आरोप उनले लगाए । पछिल्लो ८ महिनामा सरकारले कुनै पनि निर्णय र नियुक्ति आफैले नगरेको आरोप लगाउँदै भए आफूलाई मात्रै एउटा आफूलाई देखाउन चुनौती दिए । उनले सरकारकै कारणले अहिलेको अवस्थाको सृजना भएको आरोप लगाए ।