Mero Chitwan
टोपबहादुरसहित ९ जनालाई रिहा गर्न अस्वीकार, खाणबारे न्यायाधीशबीच नै राय बाझियो

काठमाडौं– नक्कली भु्टानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको निर्णय सदर गरेको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामा रिहा गर्ने कि नगर्ने भन्ने विषयमा भने न्यायाधीशबीच राय बाझिएपछि तेस्रो न्यायाधीश कहाँ पठाउने निर्णय भएको छ । 

रायमाझीका छोरा सन्दीपलाई भने ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये टोपबहादुरसँगै टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राई र आङ्टावा शेर्पालाई थुनामै पठाउने काठमाडौं अदालतको आदेश सदर गरेको छ । यस्तै सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरीलाई पनि थुनामै पठाउने आदेश भएको छ ।

तर, सन्दीपसँगै नरेन्द्र केसी १० लाख, हरिभक्त महर्जन १५ लाख, शमशेर मिया १० लाख, रामशरण केसीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । आशिष बुढाथोकी, टंक गुरुङ, र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश गरेको छ ।

लक्ष्मी महर्जनलाई भने साधारण तारेखमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ । यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । शरणार्थी नेता टेकनाथ रिजाललाई मानसिक स्वास्थ्य र उमेरका आधारमा १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको अदालतले जनाएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने उच्च अदालत पाटनले थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश जनक पाण्डेले ३० लाख रुपैयाँ धरौटीमा छाड्न राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले त्यसमा असहमति जनाएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको जिम्मा लगाउने निर्णय भएको छ । यस प्रकरणमा जिल्ला अदालत काठमाडौंले गत असार १ गते दिएको थुनछेकको आदेशविरुद्ध अभियुक्तहरुले उच्च अदालतमा बेरितको आदेश बदरको माग गर्दै निवेदन दिएका थिए ।

ठगी, कीर्ते, संगठित अपराध र राज्यविरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई सुझाव दिएको थियो । त्यही आधारमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

आरोपीमध्ये पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा र इन्द्रजित राईका छोरा नीरज भने अझै फरार छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update