चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं– समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने भएको छ ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्न चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको उनले बताए । त्यसअघि चैत १ गते बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माले जानकारी दिए ।
उनले देशलाई प्रतिगमनतर्फ लैजाने हरकत सह्य नहुने निष्कर्ष निकालिएको जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१ २३:०८
प्रतिक्रिया दिनुहोस्