Mero Chitwan
च्याम्पियन्स ट्रफीको उपाधि भारतलाई

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ।

यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए।

न्युजिल्यान्डले दिएको २ सय ५२ रनको लक्ष्य पछाएको भारतले ४९ ओभरमा ६ विकेटको नोक्सानीमा जित हात पार्यो।  दुबई इन्टरनेशनल स्टेडियममा भारतले उत्कृष्ट सुरुवात गर्यो। कप्तान रोहित शर्मा र शुभमन गिलले शतकीय साझेदारी गरे। यी दुईले पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्दै न्युजिल्यान्डका बलरलाई दबाब दिए।

भारतका लागि कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेले। उनले ८३ बलमा ७६ रन बनाए। श्रेयर अयरले ४८, अक्षर पटेलले २९, सुमन गिलले ३१, हार्दिक पान्ड्याले १८ रनको योगदान दिए। केएल राहुल ३४ र रविन्द्र जडेजा ९ रनमा अविजित रहे।

बलिङमा न्युजिल्यान्डका कप्तान मिचेल सेन्टनर र माइकल ब्रेसवेलले २-२ विकेट लिए। रचिन रविन्द्र र काइल जेमिसनले एकएक विकेट झारे।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो। न्युजिल्याण्डका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रन बनाए।

१०१ बल खेलेको उनले ३ चौका प्रहार गरेका थिए। रचिन रविन्द्र ३७ र ग्लेन फिलिप्स ३४ रनमा आउट हुँदा माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे। बलिङमा भारतका कुलदिप यादव र वरुण चक्रवर्थीले दुईदुई, रविन्द्र जडेजा र महोम्मद शमीले एकएक विकेट लिएका थिए।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update