Mero Chitwan
पूर्वराजालाई ओलीको प्रश्न- देश बचाउने भन्नुहुन्छ, देश के भएको छ र?

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन आग्रह गरेका छन् । आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै उनले चुनावमार्फत् राजनीतिमा आउने बाटो खुला रहेको बताएका हुन् । 

गत फागुन ७ मा पूर्वराजाले आफूलाई साथ दिन भन्दै गरेको सम्बोधनले आफू छक्क परेकोसमेत उनको भनाइ छ । ‘फागुन ७ गतेको लागि पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो’, उनले भने, ‘उहाँले संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ ?’

प्रधानमन्त्री ओलीले अराजकताको बाटो हिँडेर केही हत्याउँछु भन्ने सपना नदेख्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । उनले पूर्व राजालाई राजनीतिमा आउन चुनौती पनि दिए । ‘म उहाँलाई सुझाव दिन चाहन्छु, राजनीतिमा आउने भए स्वागत छ । तर, के कुरामा साथ माग्नुभएको बुझिएन’, प्रधानमन्त्री ओलीले भने ।

अहिले कुनै व्यक्तिले दिएको संविधान नभई जनताको त्याग, संघर्ष र बलिदानीले बनेको संविधानसभाबाट बनेको संविधान रहेको उल्लेख गर्दै उनले त्यसको रक्षा गर्नु आफ्नो कर्तव्य भएको बताए । देशलाई प्रतिगमनमा जान नदिन सत्ता र प्रतिपक्ष एक ठाउँमा हुनुपर्ने उनको भनाइ थियो ।

वर्तमान सरकार चुनावसम्म चल्ने प्रधानमन्त्री ओलीको दाबी थियो । अबको १६ महिनासम्म सरकार आफूले चलाउने र त्यसपछि नेपाली कांग्रेसलाई सुम्पिने उनको भनाइ छ । १६ महिनापछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पनि उनले बताए । 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update