
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई सफाइपत्र बुझाउँदै आफूलाई पदबाट हटाउनु पर्ने गरी कुनै पनि काम नगरेको दाबी गरेका छन् ।
घिसिङले आज मन्त्रालयमा सफाई पेश गर्दै नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को कुन प्रावधान अनुसार कुन-कुन काम नगरेको भन्दै प्रतिप्रश्न गरेका छन् ।
गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै कुलमानलाई पत्र काटेको थियो । जवाफमा घिसिङले आफूले नेतृत्व लिएपछि लोडसेडिङ अन्त्य भएको, ९९ प्रतिशत विद्युतीकरण भएको, घाटामा रहेको संस्थालाई निरन्तर नाफामा पुर्याएको, प्रभावकारी रूपमा चुहावट नियन्त्रण गरेको, भारत र बंगलादेशसम्म विद्युत् निर्यात गरी उल्लेख्य वैदेशिक मुद्रा आर्जन गर्न सफल भएको बताएका छन् ।
विद्युत् उत्पादन, प्रसारण र वितरण क्षमतामा चार गुणाभन्दा बढीले वृद्धि गर्न सफल भएको, विभिन्न वर्गका नागरिक समेतलाई सहुलियत महसुल दरमा विद्युत् सेवा प्रदान गर्न नेतृत्व गरेबापत प्रोत्साहित हुनु पर्नेमा उल्टै निरुत्साहित र दण्डित गर्ने प्रयासबाट आफू मर्माहत भएको समेत उनको भनाइ छ ।