Mero Chitwan
अंकुरमका   विद्यार्थीमाझ सन्दीपले भने-जीवनमा आउने नकारात्मकतालाई पछाडि छाडेर हिड्न जरुरी छ

चितवन : भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीका विद्यार्थीले क्रिकेटर सन्दीप लामिछानेसँग अन्तर्क्रिया गरेका छन् । आइतबार दिउँसो विद्यालयमा आइपुगेका सन्दीपसँग विद्यार्थीहरुले क्रिकेटसम्बन्धी विभिन्न प्रश्न गरेका थिए । 

लामिछानेले कक्षा ११ र १२ का विद्यार्थीसँग करिब ४५ मिनेट अन्तर्क्रिया गरेका थिए । त्यस क्रममा लामिछानेले आफू नवलपरासी र चितवनका टोलटोलमा क्रिकेट खेलेर सिक्दै यो स्थानसम्म आइपुगेको बताए । उनले प्रारम्भिक चरणमा चितवनका टोलटोलमा खेल्ने क्रममा कुनै टोलमा विजयी भएको र कतैकतै हारको सामना पनि गरेको तर आफू सधैँ त्यो जितको सकारात्मकतालाई लिएर अगाडि बढेकोले सफल भएको बताए ।उनले भने, जीवनमा आउने उतारचढावका क्रममा नकारात्मकतालाई पछाडि छोडेर अगाडि बढ्न जरुरी छ ।’

उनले नवलपुर हुँदै चितवनदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय टिममा सहभागी हुनका लागि आफूले कडा मिहिनेत गरेको र खेलप्रतिको लगाव र निरन्तर प्रयासले आफू यो स्थानसम्म आइपुगेको बताए । कुनै पनि क्षेत्रमा सफल हुन धैर्यता र लचकता निकै महत्वपूर्ण हुने बताउँदै उनले कुनैकुनै समयमा आफ्नो प्रतिद्वन्द्वी आफूभन्दा बलियो हुने र त्यसबाट विचलित नभई अर्को खेलको तयारीमा लाग्नुपर्ने बताए ।

खेलकुद क्षेत्रकै कुरा गर्दा क्रिकेट प्रसिद्ध र टोलटोलमा नाम लिइने खेल भए पनि रग्बी विश्वको पश्चिमी भागमा निकै प्रचलित खेल रहेको र चितवनमा पनि रग्बी प्रतियोगिताको आयोजना भएको सुन्न पाउँदा खुशी लागेको बताए ।

विदेशी भूमिमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने क्रममा ‘सानो देशका खेलाडी’ भनेर चर्चा गरिँदा जर्सीमा अङ्कित नेपाली झन्डा र त्यहाँ गुन्जने नेपाली राष्ट्रिय गीतले छाती चौडा हुने र सानो देश भन्ने सोच नै नआउने उनले बताए । सुरुआती समय सम्झँदै उनले ‘तीन सय रुपियाँको जर्सी किन्न पनि मुश्किल भएको र पहिलोपटक नारायणगढको हङ्ककङ बजारबाट जर्सी किनेको सम्झिए । उनले आफू पहिलोपटक बंगलादेशमा भएको टी–२० प्रतियोगितामा नेपालको झन्डा अङ्कित २५ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिँदा आफ्नो आँखा रसाएको सुनाए ।

 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update