
काठमाडौं । हाल देशभर अधिकांशदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा कर्णाली प्रदेशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । यसैगरी, सुदूरपश्चिम प्रदेशका तराई भू-भाग, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
हिजो बाजुरामा पानी परेपछि किसान उत्साहित भएका थिए भने आज कर्णालीको जाजरकोटमा बिहानैदेखि पानी परेको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हलुकादेखि मध्यम हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।