Mero Chitwan
खैरहनीमा सुरु भयो नवौँ खिचरा महोत्सव

चितवन : थारू संस्कृति जोगाउने उद्धेश्यले चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सव सुरु भएको छ । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा सुरु भएको महोत्सव  माघ १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाहादुरसिंह लामाले उद्घाटन गरेका छन् ।

माघी पर्वका अवसर पारेर थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन  गर्ने उद्देश्यले महोत्सव गरिएको हो । 

महोत्सव मूल समारोह समितिका संयोजक रामेश्वर चौधरीका अनुसार महोत्सव सम्पन्न गर्न दुई सय एक सदस्यीय मूल आयोजक समिति र १५ विभिन्न उपसमिति गठन गरिएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरीएको महोत्सवमा एक सय ५० कक्ष छन् ।

 चितवनमा विभिन्न ठाउँमा आर्थिक कृयाकलाप बढाउने उद्देश्यले मेला महोत्सव हुने गरे पनि आदिवासी थारु समुदायको कला संस्कार संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न थारु कल्याणकारिणी सभाले खिचरा महोत्सव सुरु गरेको सभाका पुर्व जिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले बताए ।

हालका जिल्ला अध्यक्ष ललित चौधरीले चितवनमा ठुलो संख्यामा बसोबास गर्ने आदिवासी थारु समुदायको मौलिक रहन सहन, पोशाक परिकारहरु प्रवर्द्धन गरे बागमती प्रदेशकै पर्यटन विकासमा ठुलो टेवा पुग्ने बताए । तर प्रदेश सभामा थारुहरुको प्रतिनिधित्व रहन छाडेको हुँदा समानुपातिक समावेशी सिद्धान्तलाई व्यवहारमा ल्याउन मन्त्री लामासँग माग गरे ।

यसका साथै थारु समुदायका परिकारहरु घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार चिच्चर र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टलहरु पनि महोत्सवमा छन् ।

थारु समुदायका मौलिक गीत र नाँचहरु प्रसस्तै छन् । तर पछिल्लो समय ति हराउँदै जान लागेका छन् । थारु समुदायका प्रचलित ठेकरा, झमटा, झुमरा, रसधारी, झररा, लाठी नाँच जस्ता साँस्कृतिक नृत्यहरु महोत्सव अवधिभर प्रस्तुत हुने संयोजक रामेश्वर चौधरीले बताए ।

 

419444436_878936357567245_9174654024369871452_n-1705153011.jpg

 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update