
काठमाडौं । महाशिवरात्रीको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला सकिएको छ । मेलामा ६४ करोडभन्दा बढी मानिसले गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगममा पवित्र स्नान गरेका छन् ।
यति ठूलो संख्यामा श्रद्धालु भेला भएको यो विश्वकै सबैभन्दा ठूलो धार्मिक मेला हो । अमेरिकाबाट प्रकाशित हुने वालस्ट्रिट जर्नलले महाकुम्भमा भएको अभूतपूर्व भेलाको समाचारलाई कभर गर्दै अमेरिकाको समग्र जनसंख्या भन्दा बढी श्रद्धालु प्रयागराज पुगेको जनाएको छ ।
यस्तै अन्य थुप्रै विदेशी समाचारमाध्यमले पनि प्रमुखकताका साथ यो मेलाको समाचार सम्प्रेषण गरेका छन् । मेला भर्न आएका साधुसन्त, नागा साधु, विदेशी नागरिक र सेलिब्रिटीहरु भारतीय र विदेशी समाचारमाध्यमको आकर्षण बनेका थिए ।
महाकुम्भ स्नानका लागि भारत मात्र नभई नेपाल लगायत विश्वका थुप्रै देशबाट असंख्य श्रद्धालु प्रयागराज पुगेका थिए । यो त्रिवेणी संगममा स्नान गर्नाले पापको प्रायश्चित भइ पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रही आएको छ । महाकुम्भ हिन्दु संस्कृति, अध्यात्म र आस्थाको प्रतिक हो ।
महाकुम्भलाई व्यवस्थित गर्न नदीको तटीय क्षेत्रको चार हजार हेक्टर खुला भूमीमा डेढ लाख टेन्टको स्थापना गरी एक अस्थायी शहरका रुपमा परिणत गरिएको थियो ।
गत जनवरी १३ देखि शुरु भएको महाकुम्भ आज फेब्रुअरी २६ मा सकिएको हो । यो ४५ दिनको अवधिमा पौष पूर्णिमा, मकर संक्रान्ति, मौनी अमावस्या, बसन्त पञ्चमी, माघि पूर्णिमा र महाशिवरात्रीमा गरी ६ वटा विशेष वा अमृत स्नान भएका थिए ।