
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग पराजित भएपछि उपविजेतामै सीमित भएको छ । नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफसम्म दुवै टिमले केही अवसर बनाए पनि गोल गर्न सकेनन् । ११औं मिनेटमा खिन मो मो तुनले एक्लै बल अघि बढाएर हानेको प्रहार किपर एन्जिलाले डाइभ गर्दै सेभ गरिन् । २३ औं मिनेटमा नेपाल गोल बेहोर्नबाट जोगिएको थियो । क्रसमा प्राप्त बलमा सान थव थवले बक्स भित्रबाट सिधै प्रहार गरेको बल विमला विकले गोल लाइनबाट सानदार तरिकाले डिफेण्डर गरिन् ।
नेपाली किपर एन्जिला अघि बढिसकेको अवस्थामा पोस्ट खाली थियो । ३४औं मिनेटमा नेपालले राम्रो अवसर खेर फाल्यो । रेखा पौडेलको पासमा सावित्राले हानेको प्रहार म्यानमारकी किपरले जोगाइन् । पूर्ण रुपमा क्लियर नभएको बल सावित्राको हेडर पासमा रेखालाई गोल गर्ने राम्रो अवसर भएपनि म्यानमार खतरा टार्न सफल भयो ।
६२ औं मिनेटमा यु पर खिनले गोल गरेपछि नेपाल १-० ले पछि पर्यो । खिनले सोलो मुभमा अघि बढ्दै नेपालको पेनाल्टी बक्समा पुर्याएर बल चिप गर्दा गोल हुन पुग्यो । नेपाली किपर एन्जिला बल रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन् ।
त्यसको दुई मिनेटपछि विन तुनले भ्रमण टोलीको अग्रता दोब्बर पारिन् । ७० औं मिनेटमा रश्मिकुमारी घिसिङको प्रहार म्यानमारकमी गोल रक्षकले जोगाइन् । लिगमा यी दुईले दुई-दुई गोलको बराबरी खेले । नेपाल सो खेलमा दुई पटक पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो । किर्गिस्तान र लेबनानसँग भने समान एक-शून्य गोलअन्तरको जित हात पारेको थियो ।
नेपालले फाइनलसम्मको यात्रा तय गर्दा विमला चौधरी, सावित्रा भन्डारी र सविता राना मगरले गोल गरेका छन् । नेपाल यसअघि सन् २०१९ मा भारतमा भएको हिरो गोल्डकपको फाइनलमा म्यानमारसँग ३-१ ले पराजित भएको थियो ।