
नयाँ दिल्ली-भारतको नयाँदिल्लीस्थित साउथ एशियन युनिभर्सिटीले शैक्षिक सत्र २०२५-२६ को भर्ना प्रकृया सुरु गरेको छ । यस वर्ष विभिन्न विभागहरुमा १ हजार ३ सय सीटहरुमा भर्ना खोलेको विश्वविद्यालयले जनाएको हो।
नयाँ शैक्षिक सत्रमा कृत्रिम बौद्धिकता र मेशिन लर्निङ, बिजनेस सिस्टम र इन्टलिजेन्स, साइबर सुरक्षा र डाटा साइन्सको अध्यापन सुरु गरिने विश्वविद्यालयले जनाएको छ । यसका साथै एकीकृत कोर्षहरु बीएस—एमएस (इन्टरडिसिप्लिनरी साइन्सेस) र बीबीए, एमबीए कार्यक्रमहरुका साथै एक वर्षे मास्टर डिग्री कार्यक्रमहरु पनि विश्वविद्यालयले शुरु गरेका छ । जसले ४ वर्षे स्नातक डिग्री पूरा गरेका विधार्थीहरुलाई स्नातकोत्तर अध्ययनमा प्रवेश गर्ने बाटो खुलेको छ ।
विश्वविद्यालयमा आयोजित एक समारोहमा विश्वविद्यालयका अध्यक्ष प्रोफेसर के.के. अग्रवालले नयाँ शैक्षिक सत्रमा सार्क राष्ट्रका विद्यार्थीलाई आधुनिक युगमा उत्कृष्टता प्राप्त गर्न आवश्यक सीप, ज्ञान र दक्षतामा आधारित कोर्षद्वारा क्षमता विकास गर्न सघाउने बताए ।
प्रोफेसर अग्रवालले ‘सीमाविहीन ज्ञान’को दृष्टिकोणका साथ स्थापित विश्वविद्यालयले सार्क क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सत्र २०२५-२६ को भर्ना प्रकृयाका साथै आगामी शैक्षिक अवसर र विस्तारिकरणका बारेमा जानकारी दिएका हुन् ।
प्राध्यापक पंकज जैनले आजको प्रतिस्पर्धात्मक युगमा विविध प्रकारका कोर्षहरुले विद्यार्थीलाई आफ्नो शैक्षिक उत्कृष्टता र पहुँच सुनिश्चित गर्न र सफलता प्राप्त गर्न आवश्यक सीप र ज्ञान प्रदान गर्ने बताए ।
प्रवेश परीक्षा निर्देशक डा कविता खन्नाले सार्क राष्ट्रका विद्यार्थीहरुलाई आफ्ना देशबाट सुरक्षित र अनलाईन परीक्षामार्फत् भाग लिनका लागि पनि विकल्प उपलब्ध रहेको कुरा जानकारी दिइन् । युनिभर्सिटीले आफ्नो डिजिटल शिक्षा प्रतिबद्धता अन्तर्गत भर्चुअल क्याम्पसको पनि शुरुवात गरेको छ जसअन्तर्गत अनलाईन डिग्री र प्रमाणपत्र कार्यक्रमहरु रहेका छन् ।
सन् २०२३ सम्म स्नातकोत्तर र पीएचडी कार्यक्रम मात्र सञ्चालन गर्दै आएकोमा सन् २०२४—२५मा कम्प्यूटर विज्ञान र इन्जिनियरिड्डमा बि.टेक.को कोर्ष पनि शुरु गरिएको थियो । एमबीए, एक्ज्यूकेटिभ एमबीए, एमसीए, एमटेक, एमएस्सी कम्प्यूटर साइन्स, एमएस्सी. बायोटेक्नोलोजी, एमए समाजशास्त्र, एमए अन्तर्राष्ट्रिय सम्बन्ध, एमए अर्थशास्त्र र एलएलएमजस्ता कार्यक्रमहरुद्वारा विश्लेषणात्मक सीप प्रदान गरी विश्वविद्यालयलाई उच्च शिक्षा क्षेत्रको प्रमुख संस्था बनाउने प्रोफेसर अग्रवालले बताए ।
- नयाँदिल्लीबाट अमन अन्सारीको सहयोगमा