पश्चिम नवलपरासीको बेलासपुरमा अन्तरजातीय प्रेमको विषयमा झडप, ५ प्रहरीसहित १५ घाइते

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच विवाद हुँदा आज दिनभर तनावग्रस्त बन्यो । स्थानीय एक युवक र युवतीबीच अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर झडप हुँदा ५ जना प्रहरीसहित १५ जना घाइते भएका छन् ।
झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आगजनी र केटी पक्षको घर अगाडि रहेको कवाडी गोदाममा आगजनी भएको प्रहरीले जनाएको छ ।
अन्तरजातीय प्रेम विवाहलाई लिएर दुई समूहबीच विवाद भएको थियो । झडपको स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड अश्रुग्यास र ३ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
घाइतेहरुको भैरहवा र जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ । साँझसम्म घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ १८:४६
प्रतिक्रिया दिनुहोस्