Mero Chitwan
महाशिवरात्रि : मठमन्दिरको सजावट र सरसफाइमा एक करोडभन्दा बढी खर्च

काठमाडौं । यही फागुन १४ गते पर्ने महाशिवरात्रीका लागि अन्तिम तयारी गरेको पशुपति क्षेत्र विकास कोषले  जनाएको छ । 

महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषले १ करोड ५० लाख रुपैयाँ खर्च छुट्याएको छ । साधु सन्तको बसोवास/भोजन, दर्शनार्थीलाई सहज रूपमा आवतजावत, पाशुपत क्षेत्रमा रङरोगन तथा फूल र बत्ती र शृङ्गारमा खर्च गरिने कोषले जनाएको छ ।

महाशिवरात्रिको तयारीसँगै अहिले पशुपति क्षेत्रका शिवालय, देवालय, मठमन्दिरहरूको सरसफाइ र रङ रोगनको काम सुरू गरिएको चल्दैछ । जसका लागि बोलपत्र आह्वान गरेर ४० लाख रुपैयाँमा ठेक्का लगाइएको हो । त्यस्तै यस क्षेत्रमा झिलिमिली बत्ती र अन्य विद्युतीय शृङ्गारका लागि मात्रै कोषले २० लाख रुपैयाँ खर्चिएको छ । महाशिवरात्रिमा फूलको प्रयोग बढी हुने गरेको छ । यहाँ प्रयोग हुने फूल सबै भारतबाट आयात गरिन्छ । यसका लागि पनि बोलपत्र आह्वान गरिएको छ । यसपटक कोषले २० लाख रुपैयाँको फूल सजवाटका लागि ठेक्का प्रदान गरेको छ ।

त्यस्तै शान्ति सुरक्षाका लागि करिब ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने छन् । सोमबारदेखि नै विभिन्न साधु बाबाहरू र धर्म गुरु तथा भक्तालुहरूको भीड लाग्न थालिसकेको छ । यस वर्ष भारतको प्रयागमा चलिरहको महाकुम्भ मेला दर्शन गरेर शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि धेरै भक्तजन आउने अनुमान समेत गरिएको कोषले जनाएको छ । भारतको तीर्थस्थल केदारनाथ लगायतका स्थानबाट जल चढाउन पनि भक्तजनहरू आउनेछन् ।

 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  २३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update