Mero Chitwan
भारतीय विदेश मन्त्रालयले भन्यो-नेपाली विद्यार्थी फर्काउन पहल भइरहेको छ

काठमाडौं– ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणमा भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।

भारतको विदेश मन्त्रालयले शुक्रबार गरेको नियमित साप्ताहिक मिडिया ब्रिफिङमा प्रवक्ता रणधीर जयसवालले भने, ‘हामी नेपाली छात्राको दुःखद निधनबाट निकै मर्माहित भएका छौँ। उनको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।’

भारतले विदेशी विद्यार्थीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले भने, ‘भारत सरकारले देशका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन्छ।’

जयसवालद्ये भारतको विदेश मन्त्रालय ओडिशा सरकार, केआईआईटी प्रशासन र नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि बताए । ओडिसा सरकारले नेपाली विद्यार्थीलाई फर्काउन पहल गरिरहेको र सुरक्षासहित शैक्षिक गतिविधिमा संलग्न हुने वातावरण बनाउन काम गरिरहेको जानकारी दिए ।

भुवनेश्वरमा रहेको स्थानीय प्रहरीले नेपाली विद्यार्थीलाई सहयोग गर्न सातै दिन चौबिसै घन्टाको हेल्पलाइन स्थापना गरेको पनि प्रवक्ता जयसवालले जानकारी दिए । ‘यसबारेमा संवाद र सहजीकरण गर्न विदेश मन्त्रालय ओडिसा सरकार र नेपाली निकायहरूसँग निरन्तर संवादमा छ,’ उनले भने ।

आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update