Mero Chitwan
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरूआत

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई हराउँदै विजयी सुरूआत गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले किर्गिस्तानमाथि १-० अन्तरको जित हात पारेको हो ।

नेपालको जितमा विमला चौधरीले निर्णायक गोल गरिन् । खेलको १० औं मिनेटमा विमलाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सविता राना मगरको लामो क्रसमा विमला चौधरीको हेडर गोलमा परिणत भएको थियो ।

त्यसअघि खेलको छैटौं मिनेटमा रेखा पौडेलले पोस्ट नजिकैबाट गरेको प्रहार गोलकिपरले बचाएकी थिइन् । रिबाउन्ड बलमा रश्मी घिसिङ गोलमा चुकिन् । उनको प्रहार पहिलो बार नजिकैबाट बाहिरिएको थियो । खेलको २१ औं मिनेटमा पनि सविताले अर्को उत्कृष्ट क्रस गरिन् । सविताको पासमा रश्मीको प्रहार फेरि पोस्ट बाहिर पुगेको थियो । खेलको ४० औं मिनेटमा रेखा पौडेलको प्रहार क्रसबारको नजिकैबाट बाहिरिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा विमलाको पासमा रश्मीले २५ यार्डबाट शानदार प्रहार गरे पनि बल क्रस बारमा लागेर फर्किएको थियो । सोही बलमा सविताले क्रस बारमै प्रहार गरेपछि नेपाल गोलको निकै सुनौलो अवसरमा चुकेका थियो । यससँगै पहिलो हाफमा नेपाल एक गोलले अघि रह्यो । यता किर्गिस्तानले भने गोलका राम्रा अवसर सिर्जना गर्न सकेन । सावित्रा भण्डारी आज बिहान मात्रै नेपाल आएको कारण उनलाई प्रशिक्षकले बेन्चमा राखेका थिए । उनी दोस्रो हाफमा विमला विकको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

खेलको ६७ औं मिनेटमा सावित्राले पोस्टअघिबाट प्रहार गर्न नसक्दा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो । निर्धारित समयको तीन मिनेट बाँकी रहँदा सावित्राको पासमा रेखाले बक्स बाहिरबाट गरेको पहार सकेन्ड बारको नजिकैबाट बाहिरिएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार लेबनानसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update