Mero Chitwan
रेवान कप महिला फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा बसन्तपुर युनाइटेड विजयी

रत्ननगर : चितवनको पर्यटकीय नगरी सौराहामा बुधबारदेखि प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।

रेवान सौराहाको आयोजनामा मंगलबारदेखि सुरु भएको १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत फुटबल प्रतिगोगिता सुरु भएको हो । खेलकुदको माध्यमबाट सौराहाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियोगिता आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले बताएका छन् ।

माघ ३० गतेदेखि ३ गतेसम्म चल्ने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको खेलकुद व्यवस्थापन उपसमितिका संयोजक रामकाजी आधिकारीले जानकारी दिए । प्रतियोगिताको वडा नं ७ का वडाध्यक्ष सजना महतो, वडा नं ६ की कार्यबहाक अध्यक्ष केशरीमाया सुनार, रेवानका अध्यक्ष गिरीले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो प्रतियोगितामा बसन्तपुर युनाइटेड क्लव माडी विजयी भएको छ ।

हेटौडा फुटबल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै बसन्तपुर युनाइटेड क्लव विजयी भएको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने बसन्तपुर युनाइटेड क्लवका निश्चल सुनार म्यान अफ दी म्याच घोषित भएकी थिइन् । बिहीबार सेन्टर कलेज रत्नप्रिय क्लव र जनजागृती क्लव मनहरी बीच खेल हुने खेलकुद उपसमितिका संयोजक रामकाजी अधिकारीले जानकारी दिए । रत्नप्रिय क्लवको समन्वयमा आयोजित प्रतियोगिताको विजेतालाई उपाधि सहित ३० हजार र उपविजेतालाई १५ हजार पुरस्कार प्रदान गरिने छ ।

सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवन(रेवान) सौराहाको आयोजनामा सौराहा फुड फेष्टिबलको १९औं संस्करण सुरु भएको हो ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update