Mero Chitwan
बबरमहलमा मेलम्चीको पाइप फुट्दा १० हजार घरधुरीमा पानी आपूर्ति प्रभावित

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा १० हजार घरमा पानी आपूर्ति प्रभावित भएको छ ।

दिउँसो अचानक पाइप फुटेपछि बबरमहल जलमग्न  हुनुका साथै जिल्ला अदालत काठमाडौं अगाडिको सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालय समेत डुबानमा परे ।

विद्युत् प्राधिकरणले तार बिच्छ्याउने क्रममा पाइपमा क्षति पुर्‍याएको बताइएको छ । अहिले त्यस क्षेत्रको पानी वितरण बन्द गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा करिब १० हजारभन्दा बढी घरधुरीमा पानी आपूर्ति प्रभावित हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।

विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगतको काम गरिरहेको छ । तर, प्राधिकरणले खानेपानी मन्त्रालय, केयूकेएललाई जानकारी नै नदिएको पाइएको छ । 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update