Mero Chitwan
सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा

काठमाडौं । सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रूपन्देहीले जोशीलाई थुनछेक बहसपछि आज पुर्पक्षका लागि जेल चलान गरेको हो । 

जोशी थुनछेक बहसका लागि आजै जिल्ला अदालत रूपन्देहीमा हाजिर भएका थिए । बहसपछि न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अभियुक्तले जानी जानी अभियोग भार अनुसार कसुर नगरेको भन्ने विश्वास गनुपर्ने मनासिव आधार नरहेको भन्दै मुलुकी अपराध संहिता २०७४ दफा ६७ अनुसार कारागारमा पठाउन आदेश दिएको हो । 

आदेशमा प्रमाण परीक्षण गर्दा ठहर बमोजिम हुने भएकाले तत्काल स्थानीय कारागारमा पठाउन भनिएको छ ।

बहसमा सरकारका तर्फबाट न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गर्नुभएको थियो । यस्तै जोशीका तर्फबाट भने अधिवक्ता महेशकुमार चौधरी र अपूर्व खतिवडाले बहस गर्नुभएको थियो । 

प्रहरीले पुस ६ गते छविलाल जोशी सहितलाई पूरक अभियोगका १४ र सुरू मुद्दाका २८ सहित ४२ जना विरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update