Mero Chitwan
सौराहामा माघ ३० देखि प्रथम रेवान कप महिला फुटबल प्रतियाेगिता 

चितवन : चितवनको सौराहामा यही माघ २९ गतेदेखि सौराहा फुड फेष्टिभलअन्तर्गत प्रथम रेवान कप महिला फुटबल प्रतियाेगिता हुने भएकाे छ । खेलकुदकाे माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियाेगिता आयाेजना गरिएकाे हाे ।

माघ ३० गतेबाट ३ गतेसम्म चल्ने प्रतियाेगितामा ६ वटा टिमकाे सहभागिता रहेकाे खेलकुद व्यवस्थापन उपसमितिका संयाेजक रामकाजी आधिकारीले जानकारी दिए । रेवान साैराहाकाे आयाेजना र रत्नप्रिय क्लवकाे समन्वयमा आयाेजित प्रतियाेगिताकाे विजेतालाई ३० हजार र उपविजेतालाई १५ हजार प्रदान गरिने छ ।

सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनका(रेवान) सौराहाको आयोजनामा सौराहा फुड फेष्टिबलको १९औं संस्करण हुन लागेको हो । प्रणय दिवसको अबसर पारेर हरेक बर्ष सौराहामा फुड फेष्टिबल हुँदै आएको छ ।

चितवनको पर्यटन विकासको लागि फेस्टिबल आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । फागुन ३ गते सम्म चल्ने फेस्टिबलमा ९० लाख खर्च हुने अनुमान गरिएको जनाइएको छ।  फेस्टिबल अबलोकनका लागि सौराहामा दैनिक ५ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्रिने रेवान सौराहाका महासचिव नविन नेपालले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समुह, क्षेत्रीय होटल संघ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिबल अबधिभर सौराहाका व्यसायीहरुले आवास र खानामा १० प्रतिशत छुट सुविधा समेत सार्वजनिक गरिएकाे फेस्टिवलका सहसंयाेजक कृष्ण भट्टले बताए ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  २२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update