
चितवन : प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ भरतपुरमा सुरु भएको छ । एक्स्पोको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभयो ।
सोअवसरमा मन्त्री अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताए । उनले कृषि ऐेन केही दिनभित्र ऐनलाई मन्त्रिपरिषद्बाट पारित गरेर संसद्मा लैजाने तयारी मन्त्रालयको रहेको पनि बताए ।
उनले दूधको पैसा भुक्तानी नभएकोमा आफू लज्जित भएको पनि बताए । किसानसँग ६५ मा उधारो किन्ने र एक सयमा बेचेर किसानलाई पैसा नदिने ठीक नभएको उनले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयकी उपकुलपति शारदा थपलियालगायतले कृषि क्षेत्रले भोग्नुपरेका समस्या र समाधनमा राज्यको भूमिकाबारे बोलेका थिए ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र चितवन उद्योग सङ्घ चितवनको संयुक्त आयोजनामा सञ्चालन गरिएको प्रथम राष्ट्रिय डेरी एक्स्पो तीन दिनसम्म चल्नेछ। चितवन उद्योग सङ्घका कार्यवाहक अध्यक्ष मदन घिमिरेले पहिलो पटक राष्ट्रिय डेरी एक्स्पो गरिएकाले यसले दुग्ध उत्पादक किसानलाई फाइदा पुग्ने बताउनुभयो । ७० वटा दूध र दुग्धजन्य उत्पादनको प्रदर्शनी कक्ष रहेको सो एक्स्पोको ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।