काठमाडौं -पाथीभरा मुक्कुमलुङका आन्दोलनरतपक्ष र सरकारबीच ६ बुँदे सहमति भएको छ ।
आन्दोलतरतपक्ष र सरकारी वार्ता टोलीबीच ललितपुरको होटल हिमालयमा एको वार्तामा पाथीभरा केवलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ ।
यसैगरी सरकारले घोषणा गरेबमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सहमति भएको छ । माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति पनि भएको वार्ता टोलीका संयोजक नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
आन्दोलनका क्रममा थुनामा रहेकाहरूको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने, मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्नुका साथै मुक्कुमलुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११:०० बजे वार्तामा बस्ने सहमति भएको छ ।