Mero Chitwan
औपचारिक रुपमै पार्टी राजनीतिमा फर्किए पूर्वउपराष्ट्रपति पुन

काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रुपमै सक्रिय राजनीतिमा फर्किएका छन् । माओवादी केन्द्रको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी पाएसँगै उनी सक्रिय राजनीतिमा फर्किएका हुन् ।

यही पुस २१-२४ मा बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी संगठनलाई उत्पादनमा केन्द्रित गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज सोमबार बसेको माओवादी पदाधिकारी बैठकले पुनलाई आर्थिक तथा उत्पादन विभागको जिम्मा दिएको हो ।

यसअघि पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी भए पनि उत्पादन विभागको जिम्मेवारीमा ल्याइएको हो । उनी पदाधिकारी बैठकमा भने आमन्त्रित सदस्यका रूपमा उपस्थित हुँदै आएका छन् । माओवादीभित्र पूर्वउपराष्ट्रपति पुनलाई पार्टी राजनीतिमा पुन: भित्र्याउने विषयमा विवाद भए पनि पदाधिकारी बैठकले उत्पादन विभागको जिम्मेवारी दिएको हो ।

नेताहरूबाटै प्रश्न उठेपछि पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने तयारी रोकिएको थियो । 

उनी २०७२ कात्तिकदेखि २०७९ चैतसम्म उपराष्ट्रपति थिए । २०७९ चैतमा रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै पुनको पदावधि सकिएको थियो । यसयता डेढ वर्ष उनी कुनै राजनीतिक कार्यक्रम सहभागी भएका थिएनन् ।

 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  २३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update