काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा मुलुकको विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो ।
विदेशी मुद्रा सञ्चिति यो ६ महिनामा मात्रै २ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
रेमिट्यान्स बढेको भए पनि यसको वृद्धिदरमा भने गत वर्षको तुलनामा कमी आएको तथ्यांकमा देखिन्छ । रेमिट्यान्स ४.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ६३ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको पुसमा भने रेमिट्यान्स २२ प्रतिशतले बढेको थियो । सरकारको खातामा भने गत असारको रकम थपिएको छ । गत असार मसान्तमा सरकारको ढुकुटीमा ८३ अर्ब ९९ करोड रहेकामा गत पुसमा यस्तो रकम २ खर्ब ९७ अर्ब ७० करोड रहेको छ ।
गत वर्षको तुलनामा कर्जा केही बढेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड अर्थात ५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९२ अर्ब ६४ करोड अर्थात ४ प्रतिशतले बढेको थियो ।