Mero Chitwan
राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईजलाई

चितवन : मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईज युथ क्लब रत्ननगरले जितेको छ । आज सम्पन्न फाइनलमा बागमती युथ क्लब सर्लाहीलाई १-० ले हराउँदै प्याराडाईजले उपाधि चुमेको हो ।

नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको खेलमा प्याराडाईजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले १६ औं मिनेटमा निर्णायक गोल गरे ।

खेलको अन्त्यतिर बागमतीले राम्रो अवसरहरु बनाए पनि गोल गर्न सकेन । निर्णायक गोल गरेक मोहित प्लेयर अफ दि म्याच चुनिए । च्याम्पियन बनेको प्याराडाईजले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित बागमतीले तीन लाखमा चित्त बुझाएको छ ।

उपविजेता बागमतीका राज भुसाल प्लेयर अफ दि सिरिज भए । यस्तै प्याराडाईजका अभिषेक बराल उत्कृष्ट गोलरक्षक तथा प्याराडाईजकै जीवन गुरुङ उत्कृष्ट डिफेन्डर बने । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गरेको आयोजक चितवन ११ का अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update