Mero Chitwan
संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन : ९० दिनभित्र अध्यादेश संसद्‍बाट पारित नभए विकल्प खोज्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनको पहिलो दिन सरकारले ल्याएका अध्यादेशको बचाउ  गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले साझा धारणा बनाएर संविधान संशोधन प्रस्ताव गरिने बताएका छन् । उनले कांग्रेस र एमाले मिलेर स्थीर सरकार गठन भएकाले सबै क्षेत्रमा सरकारले गति लिएको दाबी गर्दै ९० दिनभित्र संसद्‍बाट अध्यादेश पारित नभए सरकारले विकल्प खोज्ने चेतावनीसमेत दिएका छन् । 

ओलीले नागरिकको सेवा सहज बनाउनेदेखि व्यवसायीलाई परेका अप्ठ्यारा हटाउन अध्यादेशमार्फत् कानुन संशोधन गरिएको दाबी गरे । उनले विपक्षी दलहरुले अध्यादेशका विषयवस्तुमा आपत्ति जनाउन नसकेको भन्दै अब ६० दिन भित्रै कानुन बनाउने बताए  सरकारले ल्याएका विधेयक ९० दिनसम्म कानुन बन्न नसके वैकल्पिक बाटो खोजिने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले ८० को दशकलाई देशको समृद्धिको दशक बनाइने पनि बताए । त्यसका लागि संविधान र कानुनमा आवश्यक संशोधन गर्नुपर्ने भएकाले साझा धारणा बनाइने उनको भनाइ छ । उनले जनतालाई तिरस्कार गर्दै सत्तामा खेलिरहने र संसदमा पटक-पटक विश्वासको मत लिने अवस्थाको अन्त्य भएको दाबी पनि गरे । 

प्रधानमन्त्री ओलीले काठमाडौं-तराई द्रुतमार्ग अन्तर्गतको मकवानपुरको धेद्रे सुरुङ, जोगवनी- किमाथाङ्का सडकमार्गको ब्रेक थ्रु भएको भन्दै निर्माणाधीन अन्य आयोजनाको काम पनि समयमै सकिने गरी काम अघि बढेको दाबी गरे । 

प्रधानमन्त्री ओलीले देशमा सुशासन कायम गर्न गठन भएको सरकार कुनै पार्टी फुटाउने खेलमा नलाग्ने स्पष्टीकरणसमेत दिए ।  विपक्षीहरूले सरकार ढल्न लागेको हल्ला चलाएकोमा आपत्ति जनाउँदै उनले यो सरकार २०८४ सालसम्मै जाने दाबी फेरी दोहोर्याए । 

 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update