
चितवन : नेकपा एमाले रत्ननगर नगर कमिटीको १०औं नगर अधिवेशन शनिबारदेखि सुरु हुँदैछ ।
आइतबारसम्म चल्ने अधिवेशन रत्ननगर वडा नं १ सौराहाचोकस्थित होटल गंगोत्री हाइवेमा हुने नगरकमिटीले जनाएको हो । एमालेका वरिष्ट उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले अधिवेशनको उद्घाटन गर्नेछन् ।
अधिवेशन उद्घाटनपूर्व टाँडी बजारमा विशाल र्याली निकालिने छ । वडा कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्यालले अधिवेशनमा ३०० प्रतिनिधि सहभागी हुने जानकारी दिए ।
वडा तहबाट छनोट भएर आएका प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने र उद्घाटनमा पार्टीका सबै तहका नेता तथा कार्यकर्ता सहभागी हने एमालेले जनाएको छ । अधिवेशनको बन्दसत्रमा रत्ननगरमा एमालेको इतिहासदेखि राजनीतिक कार्यदिशा तय गर्दै आगामी निर्वाचनमा हित हासिल गर्ने गरी रणनीति तयार गरिने नगर अध्यक्ष अर्यालले बताए । एमालेलाई पुरानै अबस्थामा फर्काउने गरी कार्यदिशा तय उनको भनाई छ । निर्विरोध नगर कमिटी चयन गर्ने गरी एमाले रत्ननगरले प्रयास सुरु गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य प्रभा बरालले सर्वसम्मत नगर कमिटी चयन गर्ने गरी प्रयास जारी रहेको बताइन् । अहिले एमालेलाई पुरानै अबस्थामा फर्काउने गरी काम गर्नुपर्ने जिम्मेवारी सबैमा छ उनले भनिन् सबैलाई चित्त बुझाएर सर्वसम्मत कमिटी चयन गर्ने प्रयास हुने छ ।
नगर अधिवेशन सम्पन्न गर्न ५९९ मुल व्यवस्थापन समिति र १० वटा उपसमिति गठन गरिएको छ । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव सहित ७५ सदस्यीय नगरकमिटी चयन गर्ने छ ।