Mero Chitwan
कालिका मन्दिरको वार्षिकोत्सव बुधबारदेखि, के-के छन् कार्यक्रम ?

चितवन : चितवनको कालिका नगरपालिकास्थित कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव बुधबारदेखि ३ दिनसम्म मनाइने भएको छ । 

कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले माघ १६, १७ र १८ गते वार्षिकोत्सव मनाउन लागिएको जनाएको हो । वार्षिकोत्सवको पहिलोदिन कार्यक्रमको उद्घाटन, साँझमा पितृहरुको नाममा बत्ती बाल्ने कार्यक्रम गरेर रातभर जाग्राम बस्ने र १७ गते कालिका भगवतीको विशेष पुजाआजा गरि नवनिर्मित मन्दिरमा देवीको प्रतिमा स्थापना गरिने छ । लगत्तै कालिकाका मेयर विनोद रेग्मीले झन्डै १ करोड खर्च गरेर निर्माण गरिएको मन्दिरको उद्घाटन गर्नेछन् ।

सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने समितिले जनाएको छ। साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु अस्मिता डल्लाकोटी, कृष्ण कंडेल, छत्र शाही, शक्तिकुमार गोदार, युवराज चौलागाई संगै ईन्द्रेणी टिम र स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

वार्षिकोत्सवलाई लक्षित गरि कालिका मन्दिर परिसर सिगारिएको छ भने मन्दिर आसपासका रुख, चौतारा तथा ठुलाठुला ढुंगाहरुमा कलात्मक आकृति बनाईएको छ ।

मन्दिरको पूर्वतर्फ रहेको कर्ण नदीमा स्नान गर्न सहज गराउने उद्देश्यले सिढीँ निर्माण गरिएको छ । साथै मन्दिर नजिकै कालिकाको कोशेलीघर समेत निर्माण गरिने छ । कोशेलीघरमा कालिकाका उद्ममीले उत्पादन गरेका सामाग्रीहरुको प्रदर्शन र विक्रिवितरण गरिने प्रचारप्रसार समिति सदस्य उमेश सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update