Mero Chitwan
अमेरिकामा तहल्का मच्चाउँदै चिनिया एआई ‘डीपसिक’

काठमाडौं । ओपन एआईको ‘च्याटजिपिटी’लाई उछिन्दै चिनियाँ एआई स्टार्टअप ‘डीपसिक’ अमेरिकामा लोकप्रिय एप बनेको छ । 

सन् २०२३ मा स्थापना भएको चिनियाँ प्रविधि कम्पनी हाइ फ्लायरले एआई स्टार्टअप ‘डीपसिक’लाई सन् २०२५ को जनवरी १० मा लन्च गरेको हो । जसका संस्थापक हुन् लिआंग वेनफेङ । तर यो एआई अमेरिकामा यति लोकप्रिय भयो कि दुई सातामै १६ लाख पटक डाउनलोड भइसकेको छ । ‘डीपसीक’ ले सर्वाधिक चर्चामा रहेको ओपनएआईको च्याटजीपीटीलाई समेत उछिनेको छ भने माइक्रोसफ्टको च्याटबट कोपाइलटलाई समेत टक्कर दिइरहेको छ । एप्पल स्टोरमा सर्वाधिक डाउनलोड गरिएको एप बनेपछि यसले अमेरिकी प्राविधिक कम्पनीमाझ हलचल मच्चाएको छ भने विश्वकै ध्यान केन्द्रित गरेको छ ।

‘डीपसीक’ले अमेरिकामात्र नभएर जापान, ताइवान, दक्षिण कोरियाको एआईमा समेत चुनौती दिइरहेको छ । यो एआईका कारण अमेरिकी शेयर बजारमा सूचीकृत ठूला टेक कम्पनीहरूको शेयर मूल्यमा समेत व्यापक गिरावट आएको छ । सबैभन्दा ठूलो धक्का चिप निर्माता कम्पनी ‘एनभिडिया’ लाई पुगेको छ, कम्पनीको शेयर मूल्यमा आएको गिरावटका कारण यसले ५ सय अर्ब डलरभन्दा बढीको घाटा बेहोरेको छ । जबकि ‘डीपसीक’मा ‘एनभिडिया’ कै एच-८०० चिप प्रयोग गरिएको छ । डिपसिकको सुरुवातले अमेरिकाको मात्र नभई जापान, दक्षिण कोरिया र ताइवानको शेयर बजारमा पनि गिरावट ल्याएको छ ।

एप डेटा अनुसन्धान फर्म सेन्सर टावरका अनुसार, जनवरी १० मा रिलिज भएदेखि नै ‘डीपसिक’ भी-थ्री, पावर्ड एआई सहायक मोडलले धेरै लोकप्रियता हासिल गरिसकेको छ। यसका निर्माताहरूले ‘डिपसिक’ भी-थ्री मोडेलले थुप्रै ओपन सोर्स मोडेलहरूलाई पछि पारेको दाबी समेत गरेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update