Mero Chitwan
अमेरिकाका अवैध आप्रवासीविरुद्ध अहिलेसम्मकै ठूलो कारबाही, ९५६ जना गिरफ्तार

एजेन्सी-अमेरिकी प्रशासनले अवैध आप्रवासीविरुद्ध अहिलेसम्मकै ठूलो कारबाही गरेको छ ।  इमिग्रेसन एन्ड कस्टम्स इनफोर्समेन्ट (आईसीई) ले आइतबार देशव्यापी रूपमा गरेको छापामारीमा कम्तीमा ९५६ जना अवैध आप्रवासीलाई गिरफ्तार गरेको हो ।  

यसअघि शनिबार २८६, शुक्रबार ५९३ र बिहीबार ५३८ जना अवैध आप्रवासीलाई विभिन्न अपराधमा संलग्न रहेको आरोपमा गिरफतार गरिएको थियो ।

थुप्रै संघीय निकायहरूको समन्वयमा शिकागो, नेवार्क, न्यु जर्सी, कोलोराडो र मियामी लगायतका शहरमा छापा हानिएको बीबीसीले जनाएको छ । आईसीईको नेतृत्वमा भएको कारबाहीमा संघीय सुरक्षा निकाय एफबीआई, लागूऔषध नियन्त्रण निकाय, ‘ब्युरो अफ अलकोहल, टोब्याको, फायर आर्म्स एन्ड एक्स्प्लोसिभ’ र यूएस मार्शल सर्भिस संलग्न रहेको सीएनएनले जनाएको छ ।

यही जनबरी २० मा सत्ता सम्हालेयता ट्रम्पले देशको आप्रवासन प्रणालीमा आमुल सुधार गर्न भन्दै यस सम्बन्धी २१ वटा कार्यकारी आदेश जारी गरिसकेका छन् ।  ट्रम्पले सीमा सुरक्षा सम्बन्धी प्रमुख अधिकारी ‘बोर्डर जार’ का रूपमा नियुक्त गर्नुभएका टम होम्यान उक्त कारबाहीको सुपरिवेक्षणका लागि स्वयं शिकागोमा उपस्थित रहेको जनाइएको छ । शिकागोका मेयर ब्रान्डन जन्सनले आईसीईले गरको कारबाहीबारे आफू जानकार रहेको तर सो कार्यमा शिकागो प्रहरी भने संलग्न नरहेको बताएका छन् । 

जो बाइडनको चार वर्षे कार्यकालमा करिब १५ लाख अवैध आप्रवासीलाई देश फिर्ता पठाइएको माइग्रेसन पोलिसी इन्स्टिच्यूटको तथ्यांकले देखाएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update