Mero Chitwan
निजी शिक्षालयजस्तो देखिने चितवन मावि गुणस्तरमा पनि अब्बल

भरतपुर– कक्षाकोठामा सिसी क्यामरा जडान, प्रविधिमैत्री शिक्षा । झट्ट हेर्दा कुनै निजी स्कुलभन्दा कम छैन । यो हो भरतपुर १० स्थित चितवन माध्यमिक विद्यालय । सरकारी स्कुल भए पनि शैक्षिक गुणस्तर र सुविधाका हिसाबले निजी विद्यालयसँग प्रतिस्पर्धा गरिरहेको चितवन मावि विपन्नको शिक्षालय पनि बनेको छ, जहाँका ८० प्रतिशत बालबालिका विपन्न परिवारका छन् ।
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीका अनुसार यहाँ ग्रामीण भेग तथा अन्यत्रबाट यहाँ आएका कामदारदेखि कर्मचारीका छोराछोरीसम्मले अध्ययन गर्दछन् । 

‘विद्यालयका विद्यार्थीमध्ये ४० प्रतिशत रोजगारीको सिलसिलामा आएका परिवारका सदस्य छन्’, अध्यक्ष अधिकारीले भने। स्थापनाको सात दशकमा विद्यालयले विभिन्न उतारचढाव पार गर्‍यो । पछिल्ला वर्षमा लय समातेको छ । आर्थिक हिसाबले पनि विद्यालय सम्पन्न छ । सरकारी विद्यालय भएकाले निःशुल्क शिक्षा र शैक्षिक गुणस्तर वृद्धि गरेका कारण विद्यालयमा विपन्न परिवारका विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ । 

गत वर्षको एसइईमा ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय कक्षा १२ को परीक्षामा जिल्लाको सर्वोत्कृष्ट बन्न सफल भएको थियो । अध्यक्ष अधिकारीले भने, ‘अन्य सामुदायिक विद्यालयले अभिभावकबाट चन्दाका नाममा शुल्क लिएर पठनपाठन गराउने गरेका छन्, यस विद्यालयले निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ ।’
 
शिक्षा क्षेत्रका अनुभवी अधिकारी तीन वर्षदेखि  विद्यालयको नेतृत्वमा छन् । आफू आएसँगै भौतिक पूर्वाधार निर्माण, आर्थिक पारदर्शीता, कक्षाकोठामा सिसी क्यामरा जडान गरेर अनुगमन, प्रविधिमैत्री शिक्षा जोड दिएसँगै विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ ।
 
प्रध्यानाध्यापक चिरञ्जीवी शर्माका अनुसार शैक्षिक गुणस्तर कायम गर्दै अघि बढेको यस विद्यालयलमा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीलाई विद्यालय पोसाकदेखि न्यानो कपडासमेत विद्यालयले उपलब्ध गराउँदै आएको छ । उनले भने, ‘कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थी र अन्य कक्षामा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडादेखि विद्यालय पोसाकसम्म हामीले दिन्छौँ ।’  
 
विद्यालयमा हाल आधारभूततर्फ चार सय ५७ र माध्यमिक विद्यालयतर्फ दुई सय ८५ विद्यार्थी अध्ययनरत छन् । यस्तै सुस्तश्रवण एकाइमा २६ विद्यार्थी अध्ययनरत छन् । विद्यालयसँग पर्याप्त जग्गा भएका कारण त्यसैको  भाडाले मनग्य आम्दानी गर्दैआएको छ । त्यही आम्दानीबाट विद्यालयले विपन्न बालबालिकालाई गुणस्तरीय शिक्षा निःशुल्करुपमा उपलब्ध गराउन सकेको छ । विद्यालयमा अङ्ग्रेजी र नेपाली माध्यमबाट पढाइ हुँदै आएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update