Mero Chitwan
गैंडा संरक्षण गर्न सरकारले ल्यायो १० वर्षे कार्ययोजना

चितवन- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले गैंडा संरक्षणको निम्ति दश वर्षे कार्ययोजना ल्याएको बताएका छन् । 

शानिबार सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको निरिक्षण  र राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा वनमन्त्री शाहीले गैंडा संरक्षणमा मन्त्रालयको एक्लो प्रयासले मात्र नभएर समुदायको पनि सक्रिय भूमिका जरुरी देखिएको बताए । 

विश्वका मुलुकबाट पर्यटकहरु गैंडा अवलोकन गर्न चितवन राष्ट्रिय निकुञ्ज सौराहा आउने गरेको हुँदा गैंडा संरक्षण सबैले हातेमालो गर्न जरुरी देखिएको उनको भनाइ छ । नेपालको पहिलो र विश्व सम्पदा क्षेत्रमा सूचीकृत तथा जैविक विविधतामा धनी चितवन राष्ट्रिय निकुञ्ज पर्यटकको उत्कृष्ट रोजाइमा परेको उनको भनाइ छ । 

कोषको कार्यालयमा उद्धार गरी ल्याइएको चारवटा गैंडाको बारेमा जानकारी लिँदै उनले संरक्षणमा सबै निकाय क्षेत्रका सहभागिता आवश्यक रहेको बताउनुभयो । 

विश्वलाई गैँडाको संख्यामा वृद्धि गर्न सकेको खण्डमा विश्वलाई उपहार दिन सकिने उनको भनाइ छ। पछिल्ला वर्षहरुमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको र त्यसलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री शाहीको भनाइ छ । 

मानव वन्यजन्तुको बासस्थानतर्फ जाने र वन्यजन्तु मानवको बासस्थानतिर आउन थालेपछि मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै भएको मन्त्री शाहीले  बताए । मन्त्री शाहीले भने, ‘‘वन्यजन्तुको आक्रमणबाट घाइते ब्यक्तिलाई निःशुल्क औषधि उपचार र मृत्यु भएका परिवारलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन मन्त्रायल प्रतिबद्ध रहेको छ ।'

सौराहास्थित कोषको कार्यालयमा एक पोथी र तीनवटा भाले गरी चारवटा गैंडा रहेको प्राविधिक किरण रिजालले बताए । ती गैँडा विभिन्न समयमा उद्धार गरी ल्याइएको उनको भनाइ छ । कोषको कार्यालयमा रहेका चारवटा गैंडाको उमेर २९ महिनाको एक पोथी गैंडा र अन्य तीन गैंडाको उमेर १९ महिना र एकको डेढ वर्षको रहेको छ । राष्ट्रिय प्रकृति कोषका समेत अध्यक्ष रहेका मन्त्री शाहीले गैंडाको संरक्षण तथा समग्र वन्यजन्तुको उद्धार कार्यमा कोषको महत्वपूर्ण र जिम्मेवार पूर्वक काम गरिरहेकोे मन्त्रीले बताए । 

सन २०२१ को गैंडा गणना अनुसार नेपालमा ७ सय ५२ वटा गैंडा रहेको गैंडा विज्ञ नरेश सुबेदीले बताए । कुल गैंडाको संख्यामध्ये चितवनमा मात्रै ६ सय ९४, बर्दियामा ३८, गैंडा शुक्लाफाँटामा १७ गैंडा र पर्सामा ३ वटा गैंडा रहेका सुवेदीको भनाइ छ । 

 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  २२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update