काठमाडौं-खो खो विश्वकपको महिला तथा पुरुषतर्फका दुवै प्रतिस्पर्धामा नेपाल उपविजेतामा सीमित भएको छ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो । भारतले दुवै इनिङ्समा अट्याकिङमा नेपालभन्दा धेरै अंक जोडेको थियो । पहिलो इनिङ्समा भारतले अट्याकिङबाट २६ अंक जोड्दा दोस्रो इनिङ्समा २८ अंक जोडेको थियो । नेपालले भने दुवै इनिङ्समा समान १८ अंक जोडेको थियो ।
यसअघि भएको महिलातर्फको फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो । भारतले महिला र पुरुष दुवै विधामा उपाधि जित्दा नेपाल भने दुवैमा उपविजेता बन्यो ।
पहिलो पटक आयोजना भएको खो खो विश्वकपमा दक्षिण एसियाका दुई राष्ट्र भारत र नेपालले अन्य राष्ट्रलाई पछि पार्दै फाइनल यात्रा तय गरेका थिए ।
पुरुषतर्फको उद्घाटन खेलमै भारत र नेपालबीच प्रतिस्पर्धा हुँदा भारत थोरै अन्तरले विजयी भएको थियो । भारतले त्यो लय कायम राख्दै अपराजित रहेर फाइनल पुग्दा नेपालले पनि पहिलो हारपछि बाँकी सबै खेल जितेर फाइनल पुगेको हो ।