Mero Chitwan
नवौं दिनसम्म साढे ३ लाखले अवलोकन गरे चितवन महोत्सव

चितवन : १५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको महोत्सव माघ १० गतेसम्म चल्ने छ ।

उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसीले माघ ४ गतेसम्म ३ लाख ५० हजारले महोत्सव अवलोकन गरेको जानकारी दिए ।

महोत्सवमा दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेको महोत्सव सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए ।

त्यसैगरी महोत्सव परिसरमा विविधि खेलकुदका गतिविधिहरु समेत भइरहेको खेलकुद समिति संयोजक शंकर प्रसाद घिमिरेले जानकारी दिए ।

महोत्सवमा मनोरञ्जन गर्नका लागि विभिन्न मनोरञ्जनात्मक खेलहरु समेत रहेका छन् । मनोरम नारायणीको दृश्य अवलोकन गर्दै विविध परिकार खान पाइने व्यवस्था समेत महोत्सवमा रहेको छ । महोत्सवमा चितवनका स्थानीयसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शकहरुको स्टल रहेका छन् । चिनिया प्रदर्शकहरुको पनि स्टल रहेको चितवन महोत्सवले चितवनलाई अन्तर्राष्ट्रियरुपमा चिनाइरहेको छ । महोत्सवमा विदेशी पर्यटकहरुको पनि आगमन भइरहेको महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीले बताए ।

महोत्सव मूल समिति संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले महोत्सव सोचेअनुसार नै आयोजना गरिएको बताए । श्रेष्ठले महोत्सवमा नआएकाहरुलाई एक पटक महोत्सव अवलोकन गरिदिन आह्वान समेत गरेका छन् । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update