
खैरहनी : पूर्वी चितवनको खैरहनीमा यही पुस २९ गते सोमबारदेखि दशौं खिचरा महोत्सव हुने भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले आयोजना गर्ने महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुुर सिंह लामाले उद्घाटन गर्नुहुनेछ । थारु समुदायको महानपर्व माघीको अबसर पारेर हरेक बर्ष खैरहनी वडा नं ५ गौचरणमा खिचरा महोत्सव हुँदै आएको छ । थारु संस्कृति जोगाउन महोत्सव आयोजना गरिँदै आएको छ । १५० वटा स्टल रहने सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचरका स्वाद चाख्न सकिनेछ भने कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको छ ।
माघ ७ गते सम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रर्बद्धनमा जोड दिइएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान। बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान “भन्ने मुल नाराका साथ आयोजना हुने यस वर्षको खिचरा महोत्सवलाई सभ्य, भव्य र सफलतापूवर्क सम्पन्न गर्नका लागि २० वटा विभिन्न समितिहरु गठन गरिएको छ । चितवन जिल्लाकै पहिलो साँकृतिक एवं व्यापारिक महोत्सवको रुपमा आयोजना गरिएको महोत्सवको आफ्नै विशेषता र महत्व रहेको आयोजक संस्थाका पूर्व अध्यक्ष नारायण महतोले खिचरा महोत्सव थारु समुदायको कला, संस्कृति, भेषभुषा प्रवद्र्धन गर्ने महत्वपूर्ण ब्राण्ड बनेको बताए ।