Mero Chitwan
पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु

काठमाडौँ-मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ । 

 जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली सुरु भइसकेको बताउँदै क्रमशः फैलिने क्रममा रहेको जानकारी दिइन् । 

उनका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण यसरी बदली सुरु भएको हो । आइतबार दिउँसोपछि मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली हुने मौसमविद् महर्जनले बताइन् । 

आइतबार सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात हुने बताउँदै मौसमविद् महर्जनले दिउँसोतिर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिइन् । 

  महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

  केही दिनअघि भएको बदली जस्तै देखिने भए पनि ठूलो पानी पार्ने बलियो प्रणाली भने नदेखिएको बताउँदै उनले सोमबारदेखि मौसम सुधार हुने जानकारी दिइन् ।  तराईका कतिपय क्षेत्रमा क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । पछिल्ला दिनमा देशभरको चिसो बढिरहेकाले ठाउँठाउँमा जनजीवन प्रभावित भएको छ । 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update