Mero Chitwan
रत्ननगरमा जनप्रतिनिधि र शिक्षकसँग प्रहरीको नागरिक सुनुवाइ

रत्ननगर : इलाका प्रहरी कार्यालय रत्ननगरले ट्राफिक प्रहरी पोस्ट टाँडीको सहकार्यमा जनप्रतिनिधि र शिक्षकसँग साइबर अपराधसम्बन्धी सचेतनामूलक प्रशिक्षण एवं नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा नगर प्रमुख प्रलाद सापकोटाले दिनप्रतिदिन सामाजिक सञ्जालमार्फत् हुने अपराध र ठगी न्यूनीकरणका लागि प्रशिक्षण महत्त्वपूर्ण हुने बताए । समाजलाई विखण्डित गर्ने खालका अपराध वृद्धि भइरहेको सन्दर्भमा प्रहरी नागरिक सुनुवाइले यस्ता अपराधको पहिचान गरी समयमै व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास नगरप्रमुख सापकोटाको भनाइ छ । सामाजिक अपराध न्यूनीकरणका लागि रत्ननगर नगरपालिकाले प्रहरीको सहयोगका यस्ता प्रशिक्षण र नागरिक सुनुवाइलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले प्रहरीले प्रदान गर्ने सेवा प्रवाह र शान्ति सुरक्षाका सवालमा सर्वसाधारणको भावना बुझ्न नागरिक सुनुवाइ गर्दै आएको प्रहरीले पछिल्लोपटक जनप्रतिनिधि र शिक्षकसँग नागरिक सुनुवाइ कार्यक्रम गरेको बताए ।

प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम यसअघि विभिन्न विद्यालय, आमा समूह, युवा क्लबलगायतका स्थानमा सम्पन्न गरिसकिएको मिश्रले बताए । प्रहरीले सीधै भनेकोभन्दा शिक्षकले आफ्नो शिक्षणकलामार्फत् विद्यार्थीहरुलाई प्रशिक्षण दिँदा अझै प्रभावकारिता बढ्ने उद्देश्यका साथ जनप्रतिनिधि र शिक्षकसँग नागरिक सुनुवाइ गरिएको उनले बताए ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) रन्जन अवाले साइबर अपराधका विभिन्न प्रकार, त्यसले निम्त्याउने समस्या, हानी–नोक्सानी र कानुनी सजायबारे जानकारी दिएका थिए । साथै, उनले साइबर अपराधबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा बिस्तृतरूपमा प्रशिक्षण दिएका थिए ।

डिएसपी अवाले सम्पूर्ण सहभागी जनप्रतिनिधि र शिक्षकहरुलाई सचेत रहन र सुरक्षित रहन आग्रहसमेत गरे । प्रशिक्षण कार्यक्रममा सहभागीहरुले विभिन्न प्रश्न र जिज्ञासाहरू राखेका थिए । उनले सबैको जिज्ञासा समाधान गर्दै उनले वर्तमान ऐन कानुनका बारेमा प्रकाश पारेका थिए ।

 कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, निजी तथा आवासीय अगनाइजेशन नेपाल (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरी, रत्ननगरअन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update