चितवन- चितवनको रत्ननगर नगरपालिकास्थित टिकौलीचौरमा रत्ननगर महोत्सवको १२औं संस्करण विहीबारदेखि सुरु भएको छ । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे ।
समारोहमा अध्यक्ष तिमिल्सिनाले सरकार र निजी क्षेत्रको सहकार्यमा आर्थिक संकट अन्त्यको पहल सुरु गर्नु पर्ने बताए । भूकम्प र कोरोना महामारीपछि मुलुकको आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएको भन्दै उनले यसको अन्त्यको लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए ।
उनले निकुञ्जको संरक्षण र जिल्लाको पर्यटनलाई संगै अगाडि बढाउनु पर्ने बताए । मानव र वन्यजन्तु बीचको द्बन्द्ब न्यूनीकरण गर्दै स्थानीय समुदायको जीविकोपार्जनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । चितवनमा रेलमार्गको सम्भावना रहेको भन्दै उनले वन र वन्यजन्तुलाई असर नपर्ने गरि रेलमार्ग निर्माणको कामलाई अगाडि बढाउनु पर्ने उनले बताए ।
कार्यक्रममा सांसद हरि ढकालले पूर्वी चितवन श्रोत बाँडफाँटका हिसाबले विभेदमा परेको गुनासो गरे । भरतपुरलाई मात्र चितवन मान्ने राज्य सञ्चालकहरुको सोचका कारण पूर्वी चितवन पछाडि परेको उनको भनाइ छ। विकासका मुद्धाहरुमा अबको बहस केन्द्रीत हुनुपर्ने भन्दै उनले सौराहाका पर्यटन, रत्ननगर अस्पताल तथा खेल पर्यटनको विकासका लागि बहस चलाउन आवश्यक रहेको बताए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले रत्ननगर महोत्सवमा कृषि र पर्यटनलाई महत्व दिँदै उद्यमशिलता विकासलाई जोड दिएका कारण स्थानीय सरकारले सहयोग र साथ दिएको बताए ।
उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले जिल्लाको आर्थिक सम्भावनाको उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले देशको आर्थिक प्रणालीमा आएको संकट सामधानको लागि सरकारले नीतिगत सुधार गर्नु पर्ने भन्दै महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान गराउने बताए । उनले सौराहाको पर्यटनलाई उकास्न पर्यटन गुरुयोजना, शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण र रत्ननगर अस्पतालको सेवा सुधार र विस्तार, पूर्वी चितवनको राजमार्गको स्तर उन्नती तथा कृषि र पशुपालन मार्फत रोजगारी सृजना गर्न सरकारसंग माग गरे ।
महोत्सव सुरु हुनुअघि नेपाल माविबाट शोभायात्रा निकालिएको थियो ।
महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु छन् । यस पटकको महोत्सव तीन लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा कृषि उत्पादनलाई जोड दिइएको संघका उपाध्यक्ष हरि अधिकारीले बताए । महोत्सव परिसरमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा मकैवाली विशेषमा मकैका नयां प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइएको छ ।
महोत्सव अन्तर्गत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको सौराहाचोक वसपार्कमा पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको संघका पूर्व अध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।
रत्ननगर महोत्सवमा प्रवेशका लागि अबलोकनकर्ताले खरिद गरेको टिकटबाट मौलाकालिका केबुलकारमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । महोत्सवको टिकट लिएर जानेलाई माघ १५ गते सम्म सो सुविधा प्राप्त गर्न सक्ने संघले जनाएको छ ।