Mero Chitwan
अदालतको आदेशपछि ८४ दिनपछि रिहा भए रवि लामिछाने

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि लामिछाने कास्की प्रहरीको हिरासतबाट रिहा भएका हुन् ।

बिहीबार साँझ जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेबाट ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

अदालतले तोकेको उक्त धरौटी बुझाएर लामिछाने बिहीबार साँझ रिहा भएको रास्वपाले जनाएको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि रिहा भएका हुन् ।

लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने सर्तमा कास्की अदालतले रिहा गर्न आदेश दिएको हो । उनलाई पोखरास्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर प्रहरीले परिवारको जिम्मा लगाएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update