Mero Chitwan
चितवन महोत्सवको उद्घाटन उद्योगमन्त्री भण्डारीले बिहान ११ बजे गर्ने

 चितवन : यही पुस २५ देखि माघ १० गतेसम्म आयोजना हुन लागेको १५औँ चितवन महोत्सवको भोलि बिहान ११ बजे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने भएका छन् ।

उद्योग वाणिज्न्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवनलाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने महोत्सवको लक्ष्य रहेको बताए । चितवनका पर्यटकीय स्थलहरुसम्म जान र आउनका लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबासको प्रबन्ध र पर्यटकीय स्थलहरुको वृत्तचित्र प्रस्तुतिलगायत कार्यक्रम अगाडि सारेको उनले बताए । 

महोत्सवमा सात वटा विशेष स्टल, कृषि परिसर, अटो परिसर, निर्माण सामग्री व्यवसायीहरुसँगको सहकार्यमा निर्माण एक्स्पो, रेस्टुरेन्ट परिसरसहित ४ सय ३० वटा स्टल रहने छन् । करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको चितवन महोत्सवमा ३० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । महोत्सवको प्रवेश शुल्क सर्वसाधारणलाई सय रुपैयाँ तोकिएको छ । विद्यार्थीहरुलाई सहुलियत दर ५० रुपैयाँ कायम गरिएको छ ।

उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको महोत्सवको मुख्य प्रवर्द्धकमा भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवन छन् । प्रवर्द्धकमा नेपाल उद्योग वाणिज्य महासंघ, कृषि विकास बैंक लि. र नेपाल पर्यटन बोर्ड छन् । मुख्य प्रायोजकमा ग्लोबल आइएमई बैंक र सहप्रायोजकमा ग्रिन मोटर्स प्रालि छन् ।

 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update