Mero Chitwan
चितवनका ११५ दुग्ध उत्पादक सहकारीले पाएनन् दूधकाे ८० करोड भुक्तानी

चितवन-चितवनका  दुग्ध उत्पादक सहकारीले बिक्री भएको दूधको भुक्तानी नपाउँदा किसानलाई रकम भुक्तानी गर्न सकेका छैनन् । साउनयताको  ८० करोड दुग्ध विकास संस्थान (डिडिसी) र निजी संस्थाहरूले भुक्तानी नदिँदा यहाँका दुग्ध उत्पादक सहकारी संस्था र किसान समस्यामा परका हुन् ।
 
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार साउनयता जिल्लामा रहेका एक सय १५ वटा दुग्ध उत्पादक सहकारीले रकम भुक्तानी पाउन नसकेका हुन् । जिल्लामा रहेका सहकारीहरूले रकम नपाएपछि दूध उत्पादन गर्ने किसानलाई  रकम भुक्तानी गर्न कठिन हुन थालेको उनले बताए । 

 बगालेले भने , “दूधको रकम भुक्तानीका लागि निजी संस्था र डिडिसीले एक महिनाको समय माग गरेका छन् । त्यतिबेलासम्म पनि रकम आउने नआउने निश्चित छैन ।” उनले सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि गत ९ गते एक महिनाभित्र रकम भुक्तानी गरिसक्ने सहमति भएको जानकारी दिए ।  भुक्तानी नपाए माघ १० गतेपछि आन्दोलनमा जाने तयारीमा सङ्घ रहेको उनको भनाइ छ । अध्यक्ष बगालेका अनुसार डिडिसीले रू ३५ करोड र अन्य रकम निजी संस्थाहरूले भुक्तानी गर्नुपर्नेछ । दूधको रकम भुक्तानी नपाए पनि यहाँ उत्पादित दूध भने खपत भइरहेको उनले बताए । 
 
 जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमा ५० प्रतिशत दूध जिल्लामा खपत हुने गरेको र ५० प्रतिशत दूध जिल्ला बाहिर जाने गरेको गरेको छ । यहाँको दूध काठमाडौँ, पोखरालगायत जिल्लामा जाने गरेको छ । जाडो समयमा दूध उत्पादनअनुसार खपत नहुँदा नियमित रूपमा पाउडर बनाएर राख्ने गरिएको उनले बताए । अहिले दैनिक ३० देखि ४० हजार लिटर दूध पाउडर उत्पादनका लागि जाने गरेको छ । गर्मी समयमा दही, बिस्कुटलगायत वस्तुमा प्रयोग गर्न सहज हुने र वर्षातको समयमा दूधको अभाव पूरा गर्न अहिले केही दूधको पाउडर बनाएर राख्ने गरिएको उनले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update