Mero Chitwan
सहकारीको रकम अपचलनमा कांग्रेस उपसभापति धनराज गुरुङसँग सीआइबीले लियो बयान

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले मितेरी सहकारीको रकम अपचलनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङसँग दोस्रो चरणको कागजी बयान लिएको छ । 

सीआइबीले मंगलबार अपराहन्न करिब साढे १२ बजे गुरुङलाई बोलाएर थप कागजी बयान लिएको हो । गुरुङले २०७४ साल यता विभिन्न तिन वटा बैंकमा गरेको कारोबारको विवरण अनुसार सोधपुछ गरेको जनाइएको छ । तर उनको बैंक विवरणमा सहकारीको रकम खुल्ने तथ्य नभेटिएको स्रोतको दाबी छ । उनको खातामा संसद हुँदा आएको तलब भत्ता र केही रकम मात्रै देखिएको हो । 

यस अघि लिइएको बयान पछि प्रहरीले बैंकबाट गुरुङको आर्थिक कारोबार खोजी गरिरहेको छ । मितेरी सहकारीका संचालक समितिकै सदस्यले गुरुङ र उनकी पूर्वश्रीमती ज्योति गुरुङले १४ करोड हिनामिना गरेको भन्दै उजुरी दिएका छन् । त्यसैका आधारमा सीआइबीले अनुसन्धान गरिरहेको छ ।

मितेरी सहकारीको रकम अपचलनमा गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भइसकेको छ । 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  २२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update