काठमाडौं-नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सोचेजस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् ।
आइतबारदेखि सुरू हुने एमालेको केन्द्रीय समितिको बैठकमा पेश गर्न तयार पारेको आफ्नो २० पृष्ठको राजनीतिक प्रतिवेदनमा ओलीले आफूले काम गर्न नसकेको स्वीकार गर्नुका साथै विपक्षी दलहरूको चर्को आलोचना गरेका हुन् । सरकारले चाहे अनुसारको काम गर्न नसक्नुको दोष पनि विपक्षीलाई थोपरेका ओलीले आफू, आफ्नो पार्टी र सरकार विरुद्ध चौतर्फी रूपमा भ्रम सिर्जना गर्ने गतिविधि भइरहेको भन्दै प्रतिरोधमा लाग्न पार्टीपंक्तिलाई निर्देशन समेत दिएका छन् ।
प्रतिवेदनमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री रहँदा अस्थिरता र अराजकतालाई मलजल गरेकै कारण वर्तमान गठबन्धन निर्माण गर्नुपरेको स्पष्टीकरण दिएका छन् ।
आफ्नो नेतृत्वको सरकार गठन भएपछि राजनीतिक स्थायित्वको सन्देश गएको दाबी गर्दै ओलीले साझा नीतिगत प्रतिबद्धता र सङ्कल्पबाट सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचनाको निर्माण भएको र अन्य कार्यदलले काम गरिरहेको जनाएका छन् ।
संविधान कार्यान्वयनको समीक्षा र संशोधनको लागि अध्ययनको सुरूआत, विधेयक पारित गर्न समयतालिका निर्धारण, कानुनमा आवश्यक सुधार, औचित्य नभएका कानुन खारेज र संघीयतासँग बाझिएका कानुनहरूको पहिचान र संशोधनको काम भइरहेको भन्दै यिनलाई सरकारको उपलब्धिका रूपमा व्यख्या गरिएको छ । प्रतिवेदनमा अर्थतन्त्र चलायमान हुने आधार तयार भएको पनि दाबी छ ।