Mero Chitwan
‘रैथाने खाना प्रवर्द्धनले पर्यटक आकर्षित गर्न सकिने’

चितवन-रैथाने खानाको प्रवर्द्धन गर्नसके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सरोकारवालाले बताएका छन् । यहाँको भरतपुर महानगरपालिका–२७ मा आयोजित रैथाने खाना महोत्सवमा सहभागी र अवलोकनका लागि आएका दर्शकले यस्तो प्रतिक्रिया दिएका हुन् ।

 भरतपुर महानगरपालिका–१० बाट महोत्सव हेर्न आएका  निरप्रसाद लामिछाने मुलुकमा पाइने परम्परागत खानाको प्रवर्द्धन गर्नसके पर्यटकको आकर्षण बढाउन सकिने बताउछन् । उनले भने, “स्थानीयरुपमा उत्पादित वस्तुको प्रयोग गर्नसके पर्यापर्यटनले देशको अर्थतन्त्रमा टेवा पुग्छ ।” 

थारु समुदायको खानाको स्टलमा रहेकी  निशा महतो युवापुस्तालाई रैथाने खानाको महत्त्व बुझाउन आवश्यक रहेको बताउछिन् । उनले भनिन्, “हामीले बनाएका खानाहरु घरमा बनाएजस्तो हुन्छ । यो संस्कार सिकाउन सकेमा मात्रै पर्यटकको आकर्षण बढाउन सकिन्छ ।” आफ्ना बालबालिकालाई आफ्नो समुदायको खानाको विषयमा ज्ञान दिएपनि युवापुस्ताले यस तर्फ ध्यान नदिएको उनको भनाइ छ । 

कुमाल समुदायको खानाका परिकारको स्टलमा रहेका सुरेश कुमाल हालको अवस्थामा समुदायले संस्कार बचाउन सकेमा मात्रै पर्यापर्यटनको विकासमा टेवा पुग्ने बताउछन् ।  

रैथाने खाना महोत्सव अवलोकन गर्न आउनुभएका भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडी संस्कार सिकाउन यस्ता कार्यक्रम फलदायी हुने बताउछन् । 

यही पुस १२ गतेदेखि सुरु भएको रैथाने खाना महोत्सवमा कुमाल, दराई, थारु, मगर, गुरुङ, माझी, मुसहरलगायतका समुदायका खानाको प्रवर्द्धन गरिएको छ । भरतपुर भ्रमण वर्षको वार्षिकोत्सवका अवसरमा महोत्सव आयोजना गरिएको हो । रासस
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update